1 थेसलोनिकी. 5. अब दाजुभाइ-दिदीबहिनीहरू हो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन। किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्‍ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ। जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्। तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्। तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ। यसकारण हामी अरूजस्ता नहौँ, जो सुतेका छन्, तर सचेत र आत्मसंयमी बनौँ। किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्। तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्‍वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ। किनकि परमेश्‍वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई नियुक्त गर्नुभएको हो। उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागौँ वा सुतौँ, हामी उहाँसितै जिउन सकौँ। यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ। अब दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर। अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर देओ। एक-आपससँग मेलमिलापमा बस। दाजुभाइ-दिदीबहिनीहरू हो, हामी तिमीहरूलाई आग्रह गर्दछौँ, अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ; अनि कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ। यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर। सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको लागि परमेश्‍वरको इच्छा यही हो। पवित्र आत्मालाई ननिभाओ। अगमवाणीलाई तुच्छ नठान। हरेक कुरालाई जाँच गर; जे कुरा असल छ, त्यसलाई पक्रिराख। हरेक किसिमका दुष्‍टतालाई इन्कार गर। तिमीहरूलाई शान्तिका परमेश्‍वर आफैँले सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क रहून्। तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ। दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा निम्ति प्रार्थना गरिदेओ। परमेश्‍वरका सबै जनहरूलाई ख्रीष्‍टिय प्रेमसाथ अभिवादन गर। यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाममा म तिमीहरूलाई आग्रह गर्दछु। हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्!