इजकिएल. 19. “इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना, र भन्: “सिंहहरूमध्ये तेरी आमा कस्ती सिंहिनी थिई! जवान सिंहहरूको बीचमा बसेर त्यसले आफ्ना डमरुहरूलाई हुर्काई। त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई; अनि त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यसले मानिसहरूलाई खान थाल्यो। जाति-जातिहरूले त्यसको बारेमा सुने, र त्यो तिनीहरूको खाडलको पासोमा पर्‍यो। तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर इजिप्ट देशमा लगे। “ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको, आफ्नो अपेक्षा टुटेको देखी; तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई र त्यसलाई एउटा बलियो सिंह बनाई। त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्‍डुल गर्न थाल्यो; किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यो मानिस खाने भयो। त्यसले तिनीहरूका बलियो किल्‍लाहरू भत्काइदियो, र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो। देश र त्यसमा भएका सबै जना त्यसको गर्जनद्वारा त्रसित भए। तब त्यसको चारैतिर भएका जाति-जातिहरू त्यसको विरुद्धमा आए। तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए, र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो। तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए। तिनीहरूले त्यसलाई थुनेर राखे। त्यसैले त्यसको गर्जन इस्राएलका पर्वतहरूमा फेरि सुनिएन। “ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको दाखको बोटजस्तै तेरी आमा थिई; प्रशस्त पानी भएको कारण त्यो फलदायक र हाँगाहरूले भरिएको थियो। त्यसका हाँगाहरू बलिया थिए, र शासकको राजदण्डको निम्ति योग्यका थिए। बाक्ला पातहरूमाथि त्यो अग्लो बोट भएर बढ्यो; अनि त्यसका हाँगाहरू धेरै थिए, र त्यो उचाइमा अग्लो देखिन्थ्यो। तर क्रोधमा त्यो उखेलियो, र जमिनमा त्यो फ्याँकियो। अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो, र त्यसका फलहरू सबै झारिदियो; त्यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्म पार्‍यो। अब त त्यो सुक्खा र पानी नभएको ठाउँ, मरुभूमिमा रोपिएको छ। त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो र त्यसका फलहरूलाई भस्म पारिदियो। शासकको राजदण्डको निम्ति योग्य, कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’ यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।”