विलाप. 3. याहवेहको क्रोधको लाठोद्वारा दुःख भोग्ने मानिस म नै हुँ। उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा अन्धकारमा हिँड्न लगाउनुभएको छ; वास्तवमा उहाँले आफ्नो हात दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ। उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ। उहाँले मलाई तितोपना र कष्‍टले चारैतिर घेरेर कब्जामा पार्नुभएको छ। उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ अन्धकारमा राख्नुभएको छ। म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ। मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो। उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ। आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै र लुकिरहेको सिंहले जस्तै उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो, र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो। उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो। उहाँले आफ्नो ठोक्रोको काँडले मेरो मुटु छेडिदिनुभयो। म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; दिनभरि नै म तिनीहरूको गिल्‍लाको गीत भएको छु। उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो र पित्त पिउन दिनुभयो। उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो। मेरो आत्माबाट शान्ति खोसिएको छ; सुख के हो, त्यो मैले बिर्सिसकेको छु। यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।” म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु। म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ। तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ: याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्‍वसनीयता महान् छ। म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।” याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ; याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो। आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ। त्यो एकलै शान्त भएर बसोस्; किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ। त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्, अझै पनि त्यसमा आशा होस्। उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्। किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन। उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ; किनकि उहाँको अटुट प्रेम अति महान् छ। किनकि उहाँले स्वइच्छाले कसैमाथि पनि दुःख वा कष्‍ट दिनुहुन्‍न। यहूदा देशका सबै कैदीहरूलाई पैतालामुनि कुल्चँदा, सर्वोच्‍च परमेश्‍वरको सामु मानिसको अधिकार खोसिँदा, र तिनीहरूले न्याय नपाउँदा के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र? प्रभुले आज्ञा गर्नुभएन भने कसले पो बोलेको कुरा पूरा गर्न सक्छ? के सर्वोच्‍चका मुखबाट नै विपत्ति र असल कुरा दुवै आउँदैनन् र? जीवित मानिसले आफ्ना पापको दण्ड पाउँदा किन गनगन गर्नु? हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ। हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्‍वरतिर उचालौँ र भनौँ: “हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, अनि तपाईंले क्षमा गर्नुभएको छैन। “तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो। तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्। तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ। “हाम्रा सबै शत्रुहरूले ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्। हामीले त्रास र खतराको पासो, नाश र विनाशको कष्‍ट भोगेका छौँ।” मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्। मेरा आँखाबाट आँसु नरोकी, निरन्तर बगिरहनेछ, जबसम्म याहवेहले स्वर्गबाट तल हेर्नुहुन्‍न र देख्नुहुन्‍न। मैले देखेको कुराले मलाई शोकित बनाउँदछ; किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु। मेरा शत्रुहरूले विनाकारण मलाई चरालाई झैँ शिकार गरिहिँडे। तिनीहरूले एउटा खाडलमा मेरो जीवनको अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने; पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो। हे याहवेह, मैले खाडलको गहिराइबाट, तपाईंको नाममा पुकारेँ। तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: “छुटकाराको मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्!” मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, र तपाईंले भन्‍नुभयो, “नडरा!” हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो। हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्! तिनीहरूले मसित लिएको बदलाको गहिराइ र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ। हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ; मेरा शत्रुहरूले दिनभरि मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्‍नुभएको छ। तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! तिनीहरू गीत गाएर मेरो गिल्‍ला गर्दछन्। हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्। तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्! हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्!