यशैया. 42. “हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु, मैले चुनेको जन, जसमा म प्रसन्‍न छु; म तिनमा मेरो आत्मा हाल्नेछु, र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्। तिनी चिच्याउने वा जोरले कराउने छैनन्, न त आफ्नो सोर सडकतिर सुनाउनेछन्। फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्, र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्। तिनले विश्‍वासयोग्यतामा न्याय गर्नेछन्; जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्; तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्। तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।” याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ: जसले आकाशहरू सृष्‍टि गरेर तिनलाई फैलाउनुभयो, जसले पृथ्वी र त्यसबाट आउने सबैलाई फिँजाउनुभयो, जसले यसका मानिसहरूलाई सास र त्यसमा हिँड्नेहरूलाई जीवन दिनुहुन्छ: “म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु, म तेरो हात पक्रनेछु। म तेरो रक्षा गर्नेछु; अनि तँलाई जाति-जातिहरूका निम्ति करार र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु; तब तैँले अन्धाहरूका आँखा खोल्न, कैदीहरूलाई कैदबाट छुटकारा दिन र अन्धकारको खाडलमा बस्‍नेहरूलाई निकाल्न सक्नेछस्। “म नै याहवेह हुँ; मेरो नाम त्यही हो! म मेरो महिमा अर्कोलाई दिनेछैनँ, न त मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछु। हेर, पहिलेका कुराहरू बितिसके, अब नयाँ कुराहरू म घोषणा गर्छु; तिनीहरू आउनुभन्दा पहिल्यै म ती तिमीहरूलाई बताउँछु।” याहवेहको लागि एउटा नयाँ गीत गाओ, र पृथ्वीको छेउबाट उहाँको प्रशंसा गर; हे समुद्र यात्रा गर्नेहरू, र त्यसमा भएका सबै थोक, टापुहरू र तिनका सबै बासिन्दा हो। मरुभूमि र त्यसका नगरहरूले आफ्ना सोर उचालून्; केदारमा बसेका बस्तीहरू आनन्दित होऊन्। सेलाका मानिसहरू आनन्दले गाऊन्; तिनीहरू पर्वतका टाकुराहरूबाट चिच्याऊन्। तिनीहरूले याहवेहलाई महिमा देऊन्, र टापुहरूमा उहाँको प्रशंसा घोषणा गरून्। याहवेह पराक्रमी मानिसझैँ अगि बढ्नुहुनेछ; योद्धाझैँ उहाँले आफ्नो जोश देखाउनुहुनेछ; चर्को सोरले उहाँले युद्ध-ध्वनि निकाल्नुहुनेछ; अनि उहाँले आफ्ना शत्रुहरूमाथि विजय पाउनुहुनेछ। “धेरै समयसम्म म चुप रहेँ, म शान्त भएर आफूलाई रोकिराखेँ। तर अब, प्रसव वेदना लागेकी स्त्रीझैँ म चिच्याउँछु; म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु। म पर्वतहरू र डाँडाहरूलाई उजाड पारिदिनेछु, र तिनका सबै वनस्पतिहरूलाई सुकाइदिनेछु; म नदीहरूलाई टापुहरूमा परिणत गरिदिनेछु; अनि पोखरीहरू सुकाइदिनेछु। म अन्धाहरूलाई तिनीहरूले नजानेका बाटोहरूमा डोर्‍याउनेछु; नचिनेका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु; म तिनीहरूको सामु अन्धकारलाई उज्यालोमा परिणत गरिदिनेछु; अनि खाल्टाखुल्टी ठाउँहरूलाई समतल बनाउनेछु। म यी कुराहरू गर्नेछु; म तिनीहरूलाई त्याग्नेछैनँ। तर मूर्तिहरूमाथि भरोसा राख्नेहरू, जसले मूर्तिहरूलाई ‘तपाईंहरू हाम्रा ईश्‍वर हुनुहुन्छ’ भनेर भन्छन्, तिनीहरू अन्त्यमा शर्ममा पारिनेछन्। “हे बहिराहरू हो, सुन; हे अन्धाहरू हो, हेर र देख! मेरो सेवकबाहेक अरू को अन्धो छ? मैले पठाएको दूतझैँ अरू को बहिरो छ? मसँग करारमा बाँधिएको व्यक्तिझैँ अन्धो को छ? याहवेहको सेवकझैँ अन्धो को छ? तिमीहरूले धेरै कुरा देखेका छौ, तर त्यसमा ध्यान दिएका छैनौ; तिमीहरूका कान खुल्‍ला छन्, तर तिमीहरू केही सुन्दैनौ।” आफ्ना धार्मिकताको खातिर उहाँको व्यवस्था महान् र महिमित बनाउन याहवेहलाई प्रसन्‍न लाग्यो। तर यो जाति खोसिएको र लुटिएको छ; ती सबै खाडलमा परेका छन्, अथवा झ्यालखानामा लुकाइएका छन्। कसैले छुटाउन नसक्ने गरी तिनीहरू लुटिएका छन्; तिनीहरू लुट बनाइएका छन्, कसैले पनि ती फर्काओ भन्दैनन्। तिमीहरूबीच कसले यो सुन्‍नेछौ, अथवा आउने समयमा ध्यान दिनेछौ? कसले याकोबलाई लुटिन दियो, र इस्राएललाई कसले खोसिन दियो? के याहवेहले नै होइन? जसका विरुद्ध हामीले पाप गरेका छौँ? किनकि तिनीहरू उहाँका मार्गमा हिँडेनन्; तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्। यसकारण उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याइदिनुभयो, र युद्धको प्रचण्डता पोखाउनुभयो। त्यसले तिनीहरूलाई ज्वालामा लपेट्यो, तर पनि तिनीहरूले बुझेनन्; त्यसले तिनीहरूलाई भस्म पारिदियो, तर पनि तिनीहरूले त्यो कुरा मतलब राखेनन्।