उपदेशक. 2. मैले मनमनमै भनेँ, “आइज, म तँलाई असल के रहेछ भनी थाहा गर्न सुख-विलासद्वारा जाँच गर्नेछु।” तर त्यो पनि अर्थहीन रहेछ भनी प्रमाणित भयो। मैले भनेँ, “हाँसो पागलपन हो; अनि सुख-विलासले के लाभ हुन्छ र?” आफूलाई मनोरञ्जन गर्न मैले मद्यपान गरेँ, र मूर्खतालाई अँगालेँ—मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो। आफ्नो छोटो जीवनमा मानिसले स्वर्गमुनि के असल काम गर्नुपर्ने रहेछ भनी म जान्‍न चाहन्थेँ। मैले ठूला-ठूला कामहरू सुरु गरेँ। मैले आफ्ना निम्ति घरहरू बनाएँ; र दाखबारी लगाएँ। मैले बगैँचाहरू र उद्यानहरू बनाएँ, र त्यहाँ सबै किसिमका फलफूलका रूखहरू रोपेँ। बढ्दै गरेका रूखहरूको सिँचाइ गर्नलाई मैले पानीका दहहरू बनाएँ। मैले दास-दासीहरू किनेँ; अनि मेरा घरमा जन्मेका अन्य दासहरू पनि मसित थिए। यरूशलेममा मभन्दा अगिका सबै मानिसहरूका भन्दा पनि धेरै गाईबस्तु र भेडाबाख्राहरू मसँग थिए। मैले आफ्ना निम्ति सुन र चाँदी, र विभिन्‍न राजाहरू र प्रान्तहरूबाट धनसम्पत्ति थुपारेँ; मैले मानिसको हृदयको आनन्दको निम्ति, गायक-गायिकाहरू र स्त्री-निवास समेत राखेँ। म यरूशलेममा मेरो अगिका सबैभन्दा धेरै महान् भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रहिरह्‍यो। मेरा आँखाहरूले चाहेका कुनै पनि अभिलाषा प्राप्‍त गर्न मैले आफैँलाई इन्कार गरिनँ; मेरो हृदयलाई मोजमस्ती गर्न मैले कुनै पनि कसर बाँकी राखिनँ। मेरा सबै मेहनतमा मेरो हृदय प्रसन्‍न थियो; अनि मेरो सारा परिश्रमको फल यही थियो। जब मैले मेरा हातहरूद्वारा गरिएका सबै कामहरू र मैले गरेका सबै परिश्रमका उपलब्धीहरूलाई विचार गरेँ; ती सबै कुराहरू अर्थहीन थिए। ती सबै कुराहरू बतासलाई खेदेको जस्तो मात्र रहेछ; सूर्यमुनि केही कुरो फाइदाको रहेनछ। तब बुद्धि के रहेछ भनी जाँच्न मेरो सोचलाई लगाएँ; अनि यसै गरी पागलपन र मूर्खता पनि, जे जति गरिसकेका छन्; त्योभन्दा बढी राजाका उत्तराधिकारीले के गर्न सक्लान् र? मैले देखेँ, मूर्खताभन्दा बुद्धि उत्तम हुँदोरहेछ, जसरी अन्धकारभन्दा उज्यालो उत्तम हुन्छ! बुद्धिमान्‌को आँखा उसको शिरमा हुन्छ, तर मूर्खचाहिँ अँध्यारोमा हिँड्‍डुल गर्छ; तर मैले यो थाहा गरेँ कि, यी दुवैको अन्त्य एउटै हुँदोरहेछ। तब मैले आफ्नो मनमनै विचार गरेँ, “मूर्खमाथि जे आइपर्छ, त्यस्तै ममाथि पनि हुन्छ। तब म बुद्धिमान् भएर मलाई के लाभ भयो र?” तब मैले आफ्नो मनमनै यसो भनेँ, “यो पनि अर्थहीन रहेछ!” किनकि मूर्खको जस्तै, बुद्धिमान्‌को पनि सधैँभरि सम्झना गरिनेछैन; ती दिनहरू आइसकेका छन्, ती दुवै बिर्सिएका हुनेछन्; मूर्खजस्तै बुद्धिमान् मानिस पनि मर्नैपर्छ! यसैले मैले आफ्नो जीवनलाई घृणा गरेँ; किनकि सूर्यमुनि गरिएको काम मेरो निम्ति दुःखमय थियो। यी सबै अर्थहीन हुन्; बतासलाई खेदेको जस्तो मात्र हो। सूर्यमुनि मैले गरेका हरेक कामलाई मैले घृणा गर्न थालेँ; किनकि हरेक कामको फल मेरो उत्तराधिकारीको निम्ति मैले छोड्नैपर्छ। अनि कसले जान्दछ, त्यो मूर्ख हुनेछ कि बुद्धिमान्? तापनि सूर्यमुनि मैले गरेको मेरो परिश्रमको हरेक फलमाथि त्यसले नै अधिकार जमाउने रहेछ, जसमा मैले सिप र प्रयत्न लगाएको थिएँ। यो पनि अर्थहीन रहेछ। यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ। किनकि मानिसले आफ्ना बुद्धि, ज्ञान र सिप लगाएर काम गर्छ, र ती सबै अरू कोही, जसले यसको निम्ति मेहनत नै गरेको हुँदैन; उसैको निम्ति छोडेर जानुपर्दो रहेछ। यो पनि एक अर्थहीन र ठूलो दुर्भाग्य हो। सूर्यमुनि गरेका आफ्ना सारा परिश्रम, चिन्ता र प्रयासको निम्ति मानिसले के नै पो पाउँछ र? जीवनभरि त्यसको मेहनत दुःख र कष्‍ट मात्र हो; राति पनि त्यसको मनले विश्राम पाउँदैन। यो पनि अर्थहीन हो। मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्‍ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्‍वरका हातबाट प्राप्‍त हुँदछ; किनकि उहाँविना कसले खान र आनन्द लिन सक्छ र? जुन मानिसले परमेश्‍वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्‍त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो।