भजनसंग्रह. 148. याहवेहको प्रशंसा गर! स्वर्गहरूबाट याहवेहको प्रशंसा गर! उच्‍च स्थानहरूबाट उहाँको प्रशंसा गर! हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर! हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर! हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर; हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर! हे सर्वोच्‍च स्वर्गहरू र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर! तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्; किनकि तिनीहरू उहाँका आज्ञामा सृष्‍टि भए। तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो; उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो। पृथ्वीबाट याहवेहको प्रशंसा गर! हे सामुद्रिक विशाल जन्तुहरू हो, र सबै गहिरा सागरहरू हो, बिजुली र असिना, हिउँ र बादल, उहाँका वचन पालन गर्ने आँधीबतास हो; पर्वतहरू र सबै डाँडाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो; जङ्गली जनावर र सम्पूर्ण गाईबस्तुहरू हो; स-साना जीवजन्तु र उड्ने पक्षीहरू, पृथ्वीका राजाहरू र राष्ट्रहरू, भारदारहरू र पृथ्वीका सबै शासकहरू, युवकहरू र युवतीहरू, वृद्ध मानिसहरू र बालकहरू; सबैले याहवेहको प्रशंसा गर! तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्; किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ; उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्‍च छ। उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ खडा गर्नुभएको छ; इस्राएलका सबै विश्‍वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति, जो उहाँको हृदयका नजिक रहन्छन्। याहवेहको प्रशंसा गर!