भजनसंग्रह. 135. याहवेहको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर; हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर। तिमीहरू, जो याहवेहको भवनमा, हाम्रा परमेश्‍वरको भवनका चोकहरूमा सेवा गर्दछौ। याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ। किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन, अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्‍नुभएको छ। म जान्दछु, याहवेह महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ। आकाशमा र पृथ्वीमा, समुद्रहरू अनि तिनका गहिराइमा, याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ। उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ; उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ; र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। उहाँले इजिप्टका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो। हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू, फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो। उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो; र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो— एमोरीहरूका राजा सीहोन, बाशानका राजा ओग, र कनानका सबै राजाहरूलाई नष्‍ट गर्नुभयो— अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा, आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो। हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ; हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ, र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ। जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती सबै मानिसहरूका हस्तकला मात्र हुन्। तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्। तिनीहरूका कान छन्, तर सुन्‍न सक्दैनन्; न तिनीहरूको मुखमा सास नै छ। मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्। हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर; हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर; हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर; हे उहाँको डर मान्‍नेहरू हो, याहवेहलाई प्रशंसा गर। सियोनबाट याहवेहलाई प्रशंसा होस्! यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्! याहवेहको प्रशंसा गर!