भजनसंग्रह. 114. जब इस्राएलीहरू इजिप्टबाट निस्किआए, जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए, तब यहूदा परमेश्‍वरको पवित्रस्थान, अनि इस्राएलचाहिँ उहाँको राज्य भयो। त्यो देखेर लाल समुद्र भाग्यो; यर्दन नदी पछिल्तिर फर्कियो; पर्वतहरू भेडाहरूझैँ, डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे। हे समुद्र, तँ किन भागिस्? हे यर्दन, तँ किन पछि फर्किस्? हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो, तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ? हे पृथ्वी, प्रभुको सामु, याकोबका परमेश्‍वरको सामु थरथरी काम्; जसले चट्टानलाई पानीका तलाउमा, कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।