भजनसंग्रह. 113. याहवेहको प्रशंसा गर! हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर! अहिलेदेखि लिएर सदासर्वदा, याहवेहको नामको प्रशंसा भइरहोस्! सूर्योदयदेखि सूर्यास्तसम्म नै याहवेहको नामको प्रशंसा हुनुपर्छ! याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ; र उहाँको महिमा आकाशभन्दा उच्‍च छ। याहवेह हाम्रा परमेश्‍वरजस्तो को छ र? उहाँ उच्‍च सिंहासनमा विराजमान हुनुहुन्छ, जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी तल निहुरनुहुन्छ। उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ। उहाँले तिनीहरूलाई राजकुमारहरूसित, आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ। उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ। याहवेहको प्रशंसा गर!