भजनसंग्रह. 102. विपत्तिमा परेको मानिसले याहवेहको सामु वर्णन गरेको विलाप। हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्; सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्! मेरो कष्‍टको समयमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्; तपाईंको कान मतिर लगाउनुहोस्; जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्! किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्; मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्। मेरो हृदय घाँसझैँ ओइलाएर सुकेको छ; म आफ्नो भोजन खान पनि बिर्सन्छु। मेरो पीडामा म चर्को सोरले कराएको कारण, म हाड र छाला भएको छु। म उजाडस्थानको उल्‍लुझैँ भएको छु; भग्नावशेषमा बस्‍ने उल्‍लुझैँ छु। अनिद्राले गर्दा म जागा रहन्छु; म छानामाथिको एकलो चरोझैँ भएको छु। दिनभरि मेरा शत्रुहरूले मेरो गिल्‍ला गर्छन्; मेरो खिल्‍ली उडाउनेहरूले मेरो नाम सरापको रूपमा प्रयोग गर्छन्। किनकि म खरानीलाई भोजनको रूपमा खान्छु, र म आफ्नो आँसु मिसिएको पानी पिउँछु; किनकि तपाईंको ठूलो क्रोधले गर्दा, तपाईंले मलाई उठाएर एकापट्टि फाल्नुभएको छ। मेरा दिनहरू साँझको छायाजस्तै बित्दछन्; म घाँसझैँ ओइलाएको छु। तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ; तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ; किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो; अब तोकिएको त्यो समय आइपुगेको छ। किनकि तपाईंका सेवकहरूलाई त्यहाँका ढुङ्गाहरू अति प्रिय छन्; त्यहाँको धुलोले समेत तिनीहरूलाई दया देखाउँछन्। जाति-जातिहरूले याहवेहको नामको भय मान्‍नेछन्, पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्। किनकि याहवेहले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ, र उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ। उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ; उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्‍नुहुनेछैन। यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्: ताकि अहिलेसम्म सृष्‍टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्: यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्‍न, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न, उच्‍च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो; स्वर्गबाट तल पृथ्वीमाथि दृष्‍टि गर्नुभयो। त्यस बेला, जब याहवेहको आराधना गर्नलाई जाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्। यसकारण सियोनमा याहवेहको नामको र यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ। मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो; र मेरा दिनहरू घटाइदिनुभयो। त्यसैले मैले भनेँ: “हे मेरा परमेश्‍वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्; तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्। सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; र स्वर्ग तपाईंकै हातका काम हुन्। तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ, र ती फालिनेछन्। तर तपाईंचाहिँ एकनास रहनुहुन्छ, तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन। तपाईंका सेवकहरूका सन्तान तपाईंको उपस्थितिमा बास गर्नेछन्; तिनीहरूका सन्तान तपाईंको सामु स्थिर रहनेछन्।”