भजनसंग्रह. 92. एउटा भजन; विश्राम दिनको निम्ति एउटा गीत। याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो। बिहान तपाईंको अचुक प्रेमको र राति तपाईंको विश्‍वासयोग्यताको घोषणा गर्नु, दशतारे वीणाको सङ्गीतमा र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो। किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ; तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु। हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्! तपाईंका विचारहरू कत्ति गहन छन्! विवेकहीन मानिसले यो जान्दैन, मूर्खले यो बुझ्न सक्दैन, यद्यपि दुष्‍टहरू घाँसजस्तै मौलाउँछन्, र सबै कुकर्मीहरूका फलिफाप पनि हुन्छ, तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्‍ट पारिनेछन्। तर तपाईं, हे याहवेह, सदासर्वदा उच्‍च हुनुहुन्छ। किनकि, हे याहवेह, तपाईंका शत्रुहरू, तपाईंका शत्रुहरू निश्‍चय नै नष्‍ट हुनेछन्; सबै कुकर्मीहरू तितरबितर हुनेछन्। तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ उच्‍च पार्नुभएको छ; उत्तम तेलले मेरो अभिषेक भएको छ। मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्; मेरा कानले मेरा दुष्‍ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्। धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्; तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्; तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्, हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्। बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्; तिनीहरू ताजा र हरिया भइरहनेछन्, र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ; उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्‍टता छैन।”