भजनसंग्रह. 81. सङ्गीत निर्देशकको निम्ति, गित्तित, आसापको भजन। परमेश्‍वरका लागि, जो हाम्रो बल हुनुहुन्छ, आनन्दले गाओ; उच्‍च सोरले याकोबका परमेश्‍वरको जयजयकार गर! सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ, मधुर सितार र वीणा बजाओ! औँसी र पूर्णिमाको रातमा हुने, हाम्रो चाडमा भेडाको सिङबाट बनेको तुरही बजाओ। इस्राएलको निम्ति यो एउटा आदेश हो, याकोबका परमेश्‍वरको यो एउटा विधि हो। जब परमेश्‍वर इजिप्टको विरुद्ध उठ्नुभयो, उहाँले योसेफको निम्ति यो एउटा कानुनको रूपमा स्थापित गर्नुभयो। मैले एउटा अज्ञात आवाजले यसो भनेको सुनेँ: “मैले तिनीहरूका काँधबाट बोझ हटाइदिएँ; डोकाको बोझबाट तिनीहरूका हात मुक्त भए। दुःखमा पर्दा तिमीहरूले पुकार्‍यौ, र मैले तिमीहरूलाई छुटाएँ; मैले मेघ गर्जनबाट तिमीहरूलाई उत्तर दिएँ; मैले मेरीबाका पानीमा तिमीहरूलाई परीक्षा गरेँ। सेला हे मेरा प्रजा सुन, म तिमीहरूलाई चेतावनी दिनेछु— हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको भए त! तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन; तिमीहरूले मबाहेक कुनै देवतालाई दण्डवत् गर्नुहुँदैन। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, तिमीहरूका मुख पूरा खोल, र म त्यो भरिदिनेछु। “तर मेरा प्रजाले मैले भनेको सुन्दैनन्; इस्राएलले मेरो अधीनमा रहन मान्दैनन्। यसकारण तिनीहरू आफ्नै युक्तिमा हिँडून् भनी मैले तिनीहरूलाई तिनीहरूकै हृदयको जिद्दीमा छोडिदिएँ। “मेरा प्रजाले मेरा कुरा सुनेका भए त, इस्राएल मेरो मार्गमा हिँडेको भए त, म कति चाँडो तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका दुश्मनहरूका विरुद्धमा मेरो हात उठाउनेथिएँ! याहवेहलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्चिँदै लत्रक्‍क पर्नेथिए, र उनीहरूको दण्ड सदाकाल रहनेथियो। तर तिमीहरूलाई सबैभन्दा सर्वोत्तम गहुँ खुवाउनेथिएँ; र चट्टानमा बनेको महले म तिमीहरूलाई तृप्‍त पार्नेथिएँ।”