भजनसंग्रह. 78. आसापको मस्किल। हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन; मेरा मुखका वचनहरूतिर ध्यान लगाओ। म मेरो मुख दृष्‍टान्तमा बोल्नलाई खोल्नेछु; म प्राचीनका कुराहरूबाट गुप्‍त कुराहरू भन्‍नेछु— हामीले ती कुराहरू सुनेका र जानेका छौँ, जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्। हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ; हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू, उहाँको शक्ति र उहाँले गर्नुभएका अद्‌भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ। उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो; ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्, यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्, र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्। तब तिनीहरूले परमेश्‍वरमा आफ्ना भरोसा राख्नेछन्, र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्; तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्‍वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्‍वरप्रति विश्‍वासयोग्य थिएनन्। एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे; तिनीहरूले परमेश्‍वरका करार पालन गरेनन्, र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे। परमेश्‍वरले गर्नुभएका कामहरू, उहाँले तिनीहरूलाई देखाउनुभएको अद्‌भुत कार्यहरू, तिनीहरूले बिर्से। उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो। उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्‍याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो। उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो। उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो; उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो, र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो। तर सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर, तिनीहरू उहाँको विरुद्धमा निरन्तर पापमा लागिरहे। तिनीहरूले असाध्यै खानेकुराको माग गरेर जानी-जानी परमेश्‍वरको परीक्षा गरे। तिनीहरूले यसो भन्दै परमेश्‍वरको निन्दा गरे: “के परमेश्‍वरले हाम्रो निम्ति मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र? हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो, र पानी फुटेर निस्क्यो, पानीका धारा प्रशस्त गरी बगेर निस्क्यो; तर के उहाँले हामीलाई खानेकुरा पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?” जब याहवेहले तिनीहरूका कुरा सुन्‍नुभयो, उहाँ धेरै रिसाउनुभयो; याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो, र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो; किनकि तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे। तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो; उहाँले मानिसहरूका निम्ति खानलाई मन्‍न बर्साउनुभयो, उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो। मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्‍वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो। उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो; र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो। उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो; उड्ने पक्षीहरूलाई समुद्री किनारका बालुवासरह बर्साइदिनुभयो। उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र, तिनीहरूका पालको वरिपरि झार्नुभयो। तिनीहरूले नघाउन्जेल खाए— उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेअनुसार दिनुभयो। तर तिनीहरूको भोक मेटिनु अगि नै, तिनीहरूले खाएका खाना तिनीहरूका मुखमा छँदै, परमेश्‍वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो; तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो, इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो। यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्‌भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्‍वास गरेनन्। यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो। जब परमेश्‍वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो; तब तिनीहरूले उहाँको खोजी गर्दै, फेरि पश्‍चात्ताप गर्दै उहाँतिर फर्के। परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्छ र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धारक हुनुहुँदोरहेछ भन्‍ने कुरा तिनीहरूले सम्झे। तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे, र तिनीहरूका जिब्रोले उहाँसित झूटो बोले; तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्, न त उहाँका करारप्रति तिनीहरू विश्‍वासयोग्य नै थिए। तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो; उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो र आफ्नो पूरा क्रोध पोख्नुभएन। उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो, जो हावाजस्तो बहन्छन् र फर्किआउँदैनन्। तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई उजाडस्थानमा दुःखित तुल्याए! तिनीहरूले घरी-घरी परमेश्‍वरलाई परीक्षा गरे; र इस्राएलका पवित्र परमेश्‍वरलाई उक्साए। तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्— जुन दिन उहाँले तिनीहरूलाई मोल तिरेर अत्याचारीबाट छुटकारा दिनुभएको थियो, जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू, र सोअनको मैदानमा अद्‌भुत कार्यहरू देखाउनुभयो। उहाँले तिनीहरूका नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो; तिनीहरूले खोलाहरूका पानीबाट पिउन सकेनन्। उहाँले तिनीहरूलाई नाश पार्नलाई झिँगाका हुलहरू पठाउनुभयो, र तिनीहरूलाई उजाड पार्नलाई भ्यागुताहरू पठाउनुभयो। उहाँले तिनीहरूका अन्‍नबालीहरू फट्याङ्ग्राहरूलाई, र तिनीहरूका खेतका उब्जनी सलहलाई दिनुभयो। उहाँले तिनीहरूका अङ्‌गुरका बोटहरू असिनाले र अञ्जीरका बोटहरू तुसारोले नष्‍ट पारिदिनुभयो। उहाँले तिनीहरूका गाईबस्तुहरूलाई असिनाले, र भेडाबाख्राहरूलाई चट्याङले प्रहार गर्नुभयो। उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस, क्रोध, आक्रोश र शत्रुता— विनाशकारी दूतहरूको एक दल पठाउनुभयो। उहाँले आफ्नो क्रोधका लागि बाटो तयार पार्नुभयो; उहाँले तिनीहरूका प्राणलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो। उहाँले इजिप्टका सबै ज्येष्‍ठ सन्तानलाई, हामका पालहरूमा पुरुषत्वको रूपमा रहेका पहिलो फललाई मास्‍नुभयो। तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूका बथानलाई जस्तै निकालेर ल्याउनुभयो; उहाँले तिनीहरूलाई मरुभूमिमा भेडालाई जस्तै अगुवाइ गर्नुभयो। उहाँले तिनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो यसैले तिनीहरू डराएनन्; तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो। यसरी परमेश्‍वरले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा ल्याउनुभयो, जुन पर्वत उहाँले आफ्नो दाहिने हातले जित्नुभएको थियो। उहाँले जाति-जातिहरूलाई तिनीहरूकै सामु लखेट्नुभयो, र उनीहरूका जमिन पैतृक सम्पत्तिझैँ इस्राएलीहरूलाई बाँडिदिनुभयो; र इस्राएलीहरूका कुललाई उनीहरूका घरमा बसाल्नुभयो। तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे र सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा विद्रोही भए; तिनीहरूले उहाँका विधि-विधानहरू पालन गरेनन्। तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्‍वासघाती, भर पर्न नसकिने बाङ्गो धनुजस्तै भए। तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए; तिनीहरूका मूर्तिहरूका कारण उहाँलाई डाही तुल्याए। जब परमेश्‍वरले तिनीहरूको सोर सुन्‍नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो; उहाँले इस्राएलीहरूलाई पूर्ण रूपमा इन्कार गर्नुभयो। उहाँले शीलोमा भएको पवित्रस्थानलाई त्याग्नुभयो, जुन पाल मानिसहरूका बीचमा उहाँले राख्नुभएको थियो। उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो, उहाँको महिमालाई शत्रुहरूका हातमा जान दिनुभयो। उहाँले आफ्ना मानिसहरूलाई तरवारले काटिन सुम्पिदिनुभयो; आफ्ना उत्तराधिकारसँग अत्यन्तै रिसाउनुभयो। आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए, र उनीहरूका कन्याहरूका निम्ति वैवाहिक गीत गाइएन; तिनीहरूका पुजारीहरू तरवारले मारिए, र तिनीहरूका विधवाहरूले विलाप गर्न पाएनन्। तब प्रभु निद्राबाट बिउँझिएझैँ जाग्नुभयो; र मद्यले मातेका लडाकुझैँ उहाँ बिउँझनुभयो। उहाँले आफ्ना शत्रुहरूलाई बदला लिनुभयो; उहाँले तिनीहरूलाई अनन्तको निम्ति लाजमा पार्नुभयो। तब उहाँले योसेफका पालहरूलाई त्याग्नुभयो, उहाँले एफ्राइमको वंशलाई छान्‍नुभएन; तर यहूदाका कुललाई छान्‍नुभयो, सियोन पर्वत, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। यही ठाउँमा उहाँले आफ्नो पवित्रस्थान उच्‍च स्थानहरूझैँ बनाउनुभयो। उहाँले पृथ्वीलाईझैँ त्यस ठाउँलाई सदाको लागि स्थापित गर्नुभएको छ। उहाँले दावीदलाई आफ्नो सेवक चुन्‍नुभयो, र तिनलाई भेडीगोठबाट उठाउनुभयो; उहाँले भेडा गोठालोबाट, दावीदलाई याकोबका मानिसहरू र आफ्नो उत्तराधिकार इस्राएलीहरूको गोठालो हुनलाई ल्याउनुभयो। अनि दावीदले हृदयको इमानदारीतामा तिनीहरूको हेरचाह गरे; निपुणतासाथ तिनीहरूको अगुवाइ गरे।