भजनसंग्रह. 76. सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, आसापको भजन; एक गीत। यहूदामा परमेश्‍वर प्रसिद्ध हुनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ। उहाँको पाल शालेममा छ, उहाँको वासस्थान सियोनमा छ। त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो, ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ, र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ। साहसी मानिसहरू लुटिएका छन्; तिनीहरू गहिरो निद्रामा परेका छन्; एउटै पनि शूरवीरले आफ्नो हात उचाल्न सक्दैन। हे याकोबका परमेश्‍वर, तपाईंको हप्काइमा घोडा र रथ दुवै चीर निद्रामा परेका छन्। तपाईं मात्र भययोग्य हुनुहुन्छ; तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र? स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो; र पृथ्वी डरायो र चुपचाप भयो— हे परमेश्‍वर, जब तपाईं पृथ्वीमा पीडितहरू सबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला निश्‍चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ; र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्। तिमीहरूका परमेश्‍वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर; उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू सबैले भेटी ल्याऊन्। उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ; पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्।