भजनसंग्रह. 38. दावीदको भजन। हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्। किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्, र तपाईंको हात ममाथि परेको छ। तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन; मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्। मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्। मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्। म झुकेर धुलैमा मिलिसकेको छु; सारा दिन म विलाप गर्दै हिँड्छु। मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन। म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु। हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्; मेरा छिमेकीहरू टाढै उभिन्छन्। मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्; मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्; दिनभरि छली योजना रच्दछन्। म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्‍न सक्दैन; बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु; सुन्‍न नसक्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन। हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु; हे प्रभु, मेरा परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ। किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।” किनकि म त ढल्नै लागेको छु; र मेरो पीडा सधैँ मसँग छ। मेरो अधर्म म स्वीकार गर्दछु; मेरो पापको कारण म दुःखित छु। कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्। मेरो भलाइको साटो खराबी गर्दछन्, मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनि मेरो विरुद्धमा दोष लगाउँछन्। हे याहवेह, मलाई नत्याग्नुहोस्; हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्! हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्!