भजनसंग्रह. 34. अबीमेलेकको सामु बौलाहा हुँ भनी दावीदले बहाना गरेको र तिनीद्वारा उनलाई धपाइएको समयको दावीदको भजन। हर समय म याहवेहलाई स्तुति गर्नेछु; उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ। याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ; कष्‍टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्। मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्‍च पारौँ। मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो, उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो। उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्; तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन। यस गरिब मानिसले याहवेहलाई पुकार गर्‍यो, र उहाँले त्यसलाई सुन्‍नुभयो; उहाँले त्यसका सबै सङ्कष्‍टहरूबाट बचाउनुभयो। याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्‍नेहरूका चारैतिर सुरक्षाको घेरा लगाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ! धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्। हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान; किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन। जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्; तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन। हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन। म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु। तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ, दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने आफ्नो जिब्रोलाई खराब कुरादेखि र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख! दुष्‍टताबाट अलग बस र भलाइ गर; शान्ति खोज, र त्यसको पछि लाग। याहवेहको नजर धर्मीहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका पुकार सुन्‍नलाई खुल्‍ला हुन्छन्। तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ। धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्‍नुहुन्छ; तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ। याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ, र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ। धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्, तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ; याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ; तिनमा एउटै हाड पनि भाँचिनेछैन। खराबीले दुष्‍टलाई मार्दछ; धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्। याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ; उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।