भजनसंग्रह. 6. सङ्गीत निर्देशकको निम्ति तारवाला बाजाहरूमा शिमिनिथ, दावीदको भजन। हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्; न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्। हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु; हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ। मेरो प्राण गहिरो वेदनामा छ; कहिलेसम्म, हे याहवेह, कहिलेसम्म? हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्। मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्, चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र? मेरो पीडाले गर्दा म थाकिसकेको छु। रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ। र मेरो आँसुले सिरानी डुबाउँछ। मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्; मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्। हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ। याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ; याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ। मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्; तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।