भजनसंग्रह. 4. सङ्गीत निर्देशकको निम्ति तारवाद्यको साथ, दावीदको भजन। हे मेरा धार्मिक परमेश्‍वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्‍टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस्। हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ? तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला याद राख: याहवेहले आफ्नो निम्ति विश्‍वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ; मैले पुकार गर्दा याहवेहले सुन्‍नुहुन्छ। रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौँ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला धार्मिकताका बलिदानहरू चढाओ, र याहवेहमाथि भरोसा राख। धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?” हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्! तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी आनन्दले मेरो हृदय भरिदिनुभएको छ। म शान्तिसँग पल्टिनेछु र निदाउनेछु; किनकि हे याहवेह, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।