भजनसंग्रहको पुस्तक. 1. धन्य हुन् तिनीहरू, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्दैनन्। तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्। तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्। दुष्‍टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्। यसकारण दुष्‍टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्। किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ; तर दुष्‍टहरूको मार्गले विनाशमा पुर्‍याउँछ।