इयोब. 33. “तर अब, हे इयोब, मेरो कुरा सुन्‍नुहोस्; मैले भनेको एक-एक कुरा ध्यान दिएर सुन्‍नुहोस्। मैले मेरो मुख खोल्नै लागेको छु; मेरा कुराहरू मेरो जिब्रोको टुप्पैमा छन्। मेरा शब्दहरू साँचो हृदयबाट आउँछन्; मेरा ओठले मैले जानेका कुराहरू इमानदारीतापूर्वक बोल्छन्। परमेश्‍वरको आत्माले मलाई बनाउनुभएको हो; सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिन्छ। यदि तपाईंहरूले सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्; तपाईंहरू उठ्नुहोस् र आफ्ना तर्कहरू मेरो सामु पेस गर्नुहोस्। परमेश्‍वरको दृष्‍टिमा म पनि तपाईंहरूजस्तै छु; म पनि माटोबाटै बनाइएको हुँ। तपाईंहरू मसँग डराउनुपर्दैन, न त तपाईंहरूमाथि मेरो हात नै गह्रौँ होस्। “तर तपाईंहरूले मैले सुन्‍ने गरी भन्‍नुभएको छ— मैले ती शब्दहरू सुनेको छु— ‘म पवित्र छु, र मैले पाप गरेको छैनँ; म शुद्ध छु; र पापरहित छु। तर पनि परमेश्‍वरले मेरो गल्ती भेट्टाउनुभयो; उहाँले मलाई आफ्नो शत्रुझैँ ठान्‍नुहुन्छ। उहाँले मेरा खुट्टाहरूलाई साङ्लाले बाँध्नुहुन्छ; उहाँले मेरा सबै मार्गहरू ध्यानसित नियाल्नुहुन्छ।’ “तर म तपाईंलाई भन्दछु, यस कुरामा तपाईं ठिक हुनुहुन्‍न; किनकि परमेश्‍वर मरणशील मानिसभन्दा महान् हुनुहुन्छ। तपाईं किन उहाँलाई गुनासो पोख्नुहुन्छ, के उहाँले कुनै मानिसको तर्कहरूको जवाफ दिनुहुन्‍न भनेर हो? किनकि परमेश्‍वर मानिसहरूसँग बोल्नुहुन्छ—अहिले एक प्रकारले, र पछि अर्कै प्रकारले— यद्यपि त्यो कसैले बुझ्नै सक्दैन। सपनामा, रातको दर्शनमा, जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्, अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्; तब उहाँ तिनीहरूका कानमा बोल्नुहुन्छ, र चेताउनीहरूले तिनीहरूलाई त्रसित पार्नुहुन्छ, मानिसहरूलाई गलत काम गर्नदेखि फर्काउन र तिनीहरूलाई घमण्डदेखि टाढा राख्न, तिनीहरूलाई खाडलबाट जोगाउन, तिनीहरूको जीवनलाई तरवारबाट नाश हुनबाट जोगाउनुहुन्छ। “अथवा कुनै मानिसलाई तिनीहरूका हड्डीहरूमा लगातार दुःख्ने रोगको साथ पीडाको ओछ्यानमा ताडना दिनुहुन्छ; त्यसकारण तिनीहरूको शरीरले भोजन रुचाउँदैन र तिनीहरूको प्राणले जस्तै मिठो भोजनलाई पनि घृणा गर्छ। तिनीहरूको शरीरको मासु सुकेर जान्छ, अनि तिनीहरूका एक समयमा नदेखिएका हड्डीहरू अब देखिन थाल्छन्। तिनीहरू खाडलको नजिकै पुग्छन्, र तिनीहरूको जीवन मृत्युको दूतकहाँ पुग्छन्। तरै पनि यदि तिनीहरूका पक्षमा एक जना स्वर्गदूत, हजारौँबाट एक जना दूत छन् भने, जसलाई तिनीहरूका निम्ति कसरी धर्मी हुने भनेर सिकाउन पठाइए भने, अनि उनले ती व्यक्तिप्रति अनुग्रही भएर परमेश्‍वरलाई भनिदिए, तिनीहरूलाई खाडलमा जानदेखि बचाइदिनुहोस्; मैले यिनीहरूका निम्ति छुटकाराको मोल प्राप्‍त गरेको छु— तिनीहरूको मासु बालकको जस्तै फेरि नयाँ भइजाओस्; तिनीहरू युवा अवस्थाका दिनहरूमा जस्तै फेरि पुनर्निर्माण होऊन्— तब त्यसले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छ, र उहाँको कृपादृष्‍टि पाउन सक्छ; तिनीहरूले परमेश्‍वरको मुहार देख्नेछन्, र आनन्दले जयजयकार गर्नेछन्; उहाँले तिनीहरूलाई पूर्ण स्वास्थ्यमा पुनर्स्थापित गर्नुहुनेछ। तब तिनीहरू मानिसहरूकहाँ गएर भन्‍नेछन्, ‘मैले पाप गरेँ, जे कुरा ठिक थियो, मैले त्यसलाई बिगारेको छु; तर मैले भोग्नुपर्ने सजाय पाइनँ। परमेश्‍वरले मेरो प्राणलाई तल मृत्युको खाडलमा जानदेखि छुटाउनुभएको छ, अनि म जीवनको ज्योतिमा रमाउनलाई जीवित रहनेछु।’ “परमेश्‍वरले यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— दुई पटक अथवा तीन पटकसम्म— तिनीहरूलाई मृत्युको खाडलबाट फर्काएर ल्याउनलाई, ताकि जीवनको ज्योति तिनीहरूमाथि चम्कन सकोस्। “त्यसकारण हे इयोब, सुन्‍नुहोस्, र मेरो कुरामा ध्यान दिनुहोस्; चुप लागेर बस्‍नुहोस्, र म बोल्नेछु। यदि तपाईंलाई केही भन्‍न मन लागेको छ भने मलाई भन्‍नुहोस्; बोल्नुहोस्, किनकि म तपाईंलाई निर्दोष साबित गर्नेछु। तर यदि छैन भने मेरो कुरा सुन्‍नुहोस्; चुप लागेर बस्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु।”