इयोब. 29. इयोबले आफ्नो बहस जारी राखेर भने: “अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु, किनकि ती दिनहरूमा परमेश्‍वरले मेरो हेरचाह गर्नुहुन्थ्यो; जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो, र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्‍डुल गर्थेँ; अहो, सुखका ती मेरा दिनहरू, जब परमेश्‍वरसँगको घनिष्‍ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो; जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो, र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे; जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे, र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो। “जब म सहरको मूलढोकामा जान्थेँ, र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ। जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे, र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे; सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे, र तिनीहरूले आफ्ना मुख हातले छोप्थे; शासकहरूका आवाज मन्द हुन्थ्यो, र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो। मलाई सुन्‍नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे, र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे; किनकि सहायताको लागि गुहार्ने गरिब, र सहायता गर्ने कोही नभएका अनाथहरूलाई म छुटाउथेँ। मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो; मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ। मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ; न्याय मेरो लवेदा र मेरो फेटा थियो। म अन्धाका निम्ति आँखा, र लङ्गडाका निम्ति पाउहरूझैँ थिएँ। खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ; म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ। मैले दुष्‍ट मनिसहरूका बङ्गारा तोडिदिएँ, र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ। “मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु, मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्। मेरा जराहरू पानीसम्म पुग्नेछन्; र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ। मेरो गौरव कहिल्यै घट्नेछैन; मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’ “मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे, चुपचाप लागेर मेरो सल्‍लाह पर्खिरहन्थे। मैले बोलिसकेपछि तिनीहरूले भन्‍ने कुरा रहँदैनथ्यो; मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो। तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे; र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे। मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो; मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थिए। तिनीहरूको निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ; राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ; शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ।