इयोब. 24. “किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन? किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ? जमिनका सिमानाका ढुङ्गाहरू हटाउने मानिसहरू पनि त्यहाँ छन्; तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्। तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्, र विधवाको गोरु बन्धकमा लैजान्छन्, तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्; र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्। मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै, गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्; तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ। तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्, र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्। लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्; जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन। तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्, र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्। अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ; गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ। लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्; तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्। तिनीहरूले खेतका गराहरूमा जैतुनको तेल पेल्छन्; तिनीहरूले कोलमा दाखरस पेल्छन्, तर आफू भने तिर्खाले छटपटाउछन्। मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ, र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ; तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ। “ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्, जसले ज्योतिका मार्गहरू जान्दैनन्, अथवा ज्योतिको मार्गमा रहँदैनन्। जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्; तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्, र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्। व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ; त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’ र त्यसले आफ्नो अनुहार लुकाउँछ। रातमा चोरहरूले घरहरू फोर्छन्, तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्; तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्। तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो; तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्। “तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्; तिनीहरूको जमिनको भाग श्रापित छ; त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्। गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ। गर्भले तिनीहरूलाई भूलिहाल्छ; किराले तिनीहरूमाथि भोज गर्छन्; दुष्‍ट मानिसहरूको सम्झना रहँदैन, र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्। तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्, र विधवालाई कुनै दया देखाउँदैनन्। तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन। उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला, तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्। केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्; तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ; तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्। “यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ, र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”