इयोब. 13. “मेरा आँखाले यी सबै कुरा देखेका छन्, मेरा कानले सुनेका छन्, र मैले यो बुझेको छु। तपाईंहरूले जे जान्‍नुहुन्छ, त्यो म पनि जान्दछु; म पनि तपाईंहरूभन्दा कमको छैनँ। तर म सर्वशक्तिमान्‌सँग कुरा गर्न चाहन्छु, र मेरो मुद्दाको विषयमा परमेश्‍वरसँग बहस गर्न चाहन्छु। तर तपाईंहरूको झूटले मलाई बदनाम गर्नुहुन्छ; तपाईंहरू सबै जना निकम्मा वैद्यहरू हुनुहुन्छ! यदि तपाईंहरू चुप लागेर बसिदिनुभए त! यही नै तपाईंहरूको निम्ति बुद्धिमानी हुनेथियो। अब मेरो बहस सुन्‍नुहोस्; मेरा ओठका बिन्ती ध्यानसँग सुन्‍नुहोस्। के तपाईंहरू परमेश्‍वरको पक्षबाट झूटो बोल्नुहुनेछ? के तपाईंहरू उहाँको निम्ति छलपूर्ण कुरा गर्नुहुनेछ? के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ? के तपाईंहरूले परमेश्‍वरको निम्ति मुद्दाको बहस गर्नुहुनेछ? यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र? मानिसहरूलाई छल गरेझैँ के तपाईंहरूले उहाँलाई छल्न सक्नुहुन्छ र? यदि तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने उहाँले तपाईंहरूलाई निश्‍चय नै हप्काउनुहुनेछ। के उहाँको महानताले तपाईंहरूलाई भयभीत पार्दैन र? अनि उहाँको डर तपाईंहरूमाथि आइपर्दैन र? तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्; तपाईंहरूका सुरक्षाहरू माटाजस्तै कमजोर छन्। “चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्; अनि ममाथि जे आइपर्ला, सो भोग्न तयार छु। मैले आफूलाई किन जोखिममा पारूँ, र मेरो जीवन आफ्नै हातमा लिएर हिँडूँ? उहाँले मेरो ज्यान लिनुभए तापनि उहाँमाथि नै म आफ्नो भरोसा राख्नेछु; निश्‍चय नै म उहाँसामु आफ्नो निम्ति बहस गर्नेछु। सम्भवतः, यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्, किनकि दुष्‍ट मानिसहरू उहाँको सामु आउने साहस गर्न सक्दैनन्! मैले भनेका कुराहरू ध्यानसित सुन्‍नुहोस्; मेरा शब्दहरू तपाईंहरूका कानभित्र गुञ्जोस्! अहिले मैले मेरो मुद्दा तयार गरिसकेको छु, म जान्दछु कि म निर्दोष ठहरिनेछु। कसले मेरो विरुद्धमा आरोप लगाउन सक्छ? यदि सक्छ भने म चुपचाप बस्‍नेछु र मर्नेछु। “हे परमेश्‍वर, मलाई केवल यी दुई कुराहरू मात्र दिनुहोस्, त्यसपछि म तपाईंदेखि लुक्नेछैनँ: तपाईंको हात मबाट टाढा हटाउनुहोस्; र तपाईंका डरले मलाई भयभीत नपारोस्। तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु, अथवा मलाई बोल्न दिनुहोस्, र मलाई तपाईंले जवाफ दिनुहोस्। मैले कति गल्ती र पापहरू गरेँ? मलाई मेरो अपराध र मेरो पाप देखाइदिनुहोस्। किन तपाईंले आफ्नो मुहार लुकाउनुहुन्छ, र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ? के तपाईं हावाले उडाएको एउटा पातलाई सताउनुहुन्छ? के तपाईं सुकेको भुसलाई लखेट्नुहुन्छ? किनकि तपाईंले मेरो विरुद्धमा तिता कुराहरू लेख्नुहुन्छ, र मैले जवानीमा गरेका पापहरूको कटनी गराउनुहुन्छ। तपाईंले मेरा पाउहरू साङ्लोले बाँध्नुभएको छ; मेरा खुट्टाका पैतालाहरूमा छाप लगाउनुभएर, मेरा सबै कदमहरूलाई नजिकबाट नियाल्नुहुन्छ। “त्यसकारण मानिस कुहेको फोहोरमैलाझैँ, किराले खाएको लुगाझैँ नष्‍ट भएर जान्छ।