इयोब. 12. तब इयोबले जवाफ दिएर भने: “निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ, र बुद्धि तपाईंहरूसँगै मर्नेछ! तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ; म पनि तपाईंहरूभन्दा कमको छैनँ। यी सबै कुरा कसले जान्दैन र? “यद्यपि मैले परमेश्‍वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो— तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु, धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ! सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्; र खुट्टा चिप्लनेहरूका खुट्टा तान्‍ने गर्छन्। परमेश्‍वर तिनीहरूकै हातमा भएझैँ, चोरहरू घरमा शान्तिसँग बस्दछन्, र परमेश्‍वरलाई रिस उठाउनेहरू सुरक्षित छन्। “तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्; अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्, तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्; अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ; अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्। यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी यीमध्ये कसलाई थाहा छैन र? हरेक प्राणीको जीवन र सबै मानव-जातिको सास पनि उहाँकै हातमा छ। जिब्रोले भोजनको स्वाद चाखेजस्तै के कानले शब्दहरूको जाँच गर्दैन र? के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के जीवनको दीर्घायुले समझ ल्याउँदैन र? “बुद्धि र शक्ति परमेश्‍वरका हुन्; परामर्श र समझशक्ति उहाँकै छ। उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन; उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन। यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ; यदि उहाँले पानीलाई छोडिदिनुभयो भने त्यसले जमिनलाई विध्वंस पार्छ। शक्ति र बुद्धि परमेश्‍वरका हुन्; धोका दिने र धोका खाने दुवै उहाँकै हुन्। उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ। र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ। उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ र तिनीहरूका कम्मरमा पेटी बाँधिदिनुहुन्छ। उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ र धेरै अगाडिदेखि अधिकार गर्ने शासकहरूलाई खसालिदिनुहुन्छ। उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ, र प्रधानहरूका अन्तर्दृष्‍टिलाई हटाइदिनुहुन्छ। उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ र शक्तिशालीहरूलाई निःशस्त्र तुल्याउनुहुन्छ। उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ, र घोर अन्धकारलाई ज्योतिमा ल्याउनुहुन्छ। उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ; उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ। उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ; र तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ। तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्; र उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ।