इयोब. 9. तब इयोबले यस्तो जवाफ दिए: “वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु। तर परमेश्‍वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र? उहाँसँग कसैले वाद-विवाद गर्न चाह्‍यो भने तापनि मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्। उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ। उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ? उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ, अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ। परमेश्‍वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्‍लाइदिनुहुन्छ, र त्यसका खम्बाहरू थरथर काँप्छन्। उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन; उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ। उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ, र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ। उहाँ सप्‍तर्षि, मृगशिरा, किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्‍टिकर्ता हुनुहुन्छ। उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्‌भुत कार्यहरू र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ। जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ। यदि उहाँले कसैबाट केही खोसेर लैजानुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र? कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र? परमेश्‍वरले आफ्नो रिस थाम्नुहुन्‍न; राहाबका सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्। “त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र? उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र? यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ; म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु। यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि उहाँले मेरो कुरा सुन्‍नुहुन्छ भनी म विश्‍वास गर्दिनँ। उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ, र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ। उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्‍न, तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ। यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ! र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ? म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ; म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ। “यद्यपि म दोषरहित छु, मलाई मेरो आफ्नो कुनै वास्ता छैन; म आफ्नै जीवनलाई तुच्छ ठान्छु। सबै कुरा एउटै हो; त्यसैले म भन्दछु, ‘उहाँले निर्दोष र दुष्‍ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’ ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्‍नुहुन्छ। जब दुष्‍ट मानिसको हातमा देश पर्छ; यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ। यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त? “मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्; आनन्दको झलकविना नै ती उडेर जान्छन्। निगालाको डुङ्गा पानीमा सलल बगेझैँ, र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्। ‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु, म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि आफूले भोगेका सबै कष्‍टहरूको कारण झन् म डराउँछु; किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन। म पहिले नै दोषी ठहराइएको छु भने मैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ? यदि मैले आफूलाई हिउँले नुहाएँ भने पनि, र मेरा हात खरानी पानीले धोएँ तापनि तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ, जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्‍नेछ। “किनकि परमेश्‍वर मजस्तै मरणशील मानिस हुनुहुन्‍न, म कसरी उहाँलाई जवाफ दिन सक्छु, अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ। यदि परमेश्‍वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने, यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए, परमेश्‍वरको लहुरो मबाट कसैले हटाऊन्, ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्। तब म उहाँको डरविना नै बोल्नेथिएँ, तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।