इयोब. 5. “यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र? तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ? रिसले मूर्खलाई मार्छ, र डाहले सोझा मानिसलाई मार्छ। म आफैँले मूर्खले जरा गाडेको देखेको छु, तर अचानक त्यसको घर श्रापित भयो। त्यसका छोराछोरीहरू असुरक्षित छन्; अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्। त्यसको अन्‍नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्, काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्; र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ। किनकि कठिनाइ माटोबाट उम्रँदैन, न त विपत्ति भुइँबाट पलाउँछ। तरै पनि आगोको झिल्का माथि उडेझैँ मानिस विपत्तिकै निम्ति जन्मन्छ। “तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्‍वरलाई बिन्ती चढाउनेथिएँ; मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ। परमेश्‍वरले हामीले बुझ्नै नसकिने अद्‌भुत कार्यहरू, र गन्‍नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ, उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ; उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ। उहाँले नम्रहरूलाई उच्‍च पार्नुहुन्छ, र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ। उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ, ताकि तिनीहरूका हातले सफलता नपाऊन्। उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ; र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ। तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछन्; मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्। उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ; उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ। त्यसकारण गरिबको निम्ति आशा छ; र अन्यायले आफ्नो मुख बन्द गर्छ। “धन्यको हो त्यो मानिस, जसलाई परमेश्‍वरले सुधार गर्नुहुन्छ; यसकारण सर्वशक्तिमान् परमेश्‍वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्। किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ; उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ। उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ; सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन। उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट, र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ। तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ, र विनाश आउँदा पनि डराउनुपर्नेछैन। तपाईं विनाश र अनिकालमा हास्‍नुहुनेछैन; र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन। किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ; र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्। तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ; तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैनौ, र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैनौ। तपाईंका छोराछोरी धेरै हुनेछन्, र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ। ठिक ऋतुमा बाली बटुलेझैँ, तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ। “हामीले यी कुरा जाँचेका छौ, र यो सत्य हो। यसैले यो कुरा सुन्‍नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।”