1 इतिहास. 24. हारूनका सन्तानका दलहरू यिनै थिए: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए। तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताभन्दा पहिले मरेर गए, र तिनीहरूका छोराहरू थिएनन्। यसकारण एलाजार र ईतामारले पुजारी भएर सेवा गरे। एलाजारको सन्तान सादोक र ईतामारको सन्तान अहीमेलेकको सहायतामा, दावीदले तिनीहरूको निम्ति तोकिएको सेवाको नियमअनुसार तिनीहरूलाई दलहरूमा विभाजन गरिदिए। ईतामारका सन्तानहरूमा भन्दा एलाजारका सन्तानहरूमा धेरै संख्यामा अगुवाहरू पाइए। अनि तिनीहरूको संख्याअनुसार नै विभाजन गरिए: एलाजारका सन्तानबाट परिवारहरूका सोह्र जना अगुवाहरू र ईतामारका सन्तानबाट परिवारहरूका आठ जना अगुवाहरू थिए। दावीद, सादोक र अहीमेलेकले उनीहरूलाई पक्षपात नगरी चिट्ठा हालेर भाग गरे; किनकि एलाजार र ईतामार दुवैका सन्तानहरूसँग पवित्रस्थानमा सेवा गर्न योग्य अधिकृतहरू र परमेश्‍वरका अधिकृतहरू थिए। लेवी नथनिएलका छोरा शास्त्री शमायाहले राजा र अधिकृतहरू: पुजारी सादोक, अबीयाथारका छोरा अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारका अगुवाहरूको उपस्थितिमा तिनीहरूका नामहरू दर्ता गरे। एउटा घराना एलाजारबाट र एउटा घराना ईतामारबाट गोला हालेर छानियो। पहिलो चिट्ठा यहोयारीबको नाममा आयो, दोस्रो यदायाहको नाममा, तेस्रो हारीमको नाममा, चौथो सोरीमको नाममा, पाँचौँ मल्कियाहको नाममा, छैटौँ मिय्यामीनको नाममा, सातौँ हक्‍कोसको नाममा, आठौँ अबीयाहको नाममा, नवौँ येशूअको नाममा, दसौँ शकन्याहको नाममा, एघाह्रौ एल्यासीबको नाममा, बाह्रौँ याकीमको नाममा, तेह्रौँ हूप्पाको नाममा, चौधौँ येशेबाबको नाममा, पन्ध्रौँ बिल्गाको नाममा, सोह्रौँ इम्मेरको नाममा, सत्रौँ हेजीरको नाममा, अठारौँ हप्पिसेसको नाममा, उन्‍नाइसौँ पतहयाहको नाममा, बीसौँ यहेजकेलको नाममा, एक्‍काइसौँ याकीनको नाममा, बाइसौँ गामूलको नाममा, तेईसौँ दलायाहको नाममा, चौबीसौँ मज्याहको नाममा निस्क्यो। याहवेह इस्राएलका परमेश्‍वरले, तिनीहरूका पुर्खा हारूनलाई आज्ञा दिएबमोजिम, हारूनले तिनीहरूका निम्ति तोकिदिएका नियमअनुसार याहवेहको मन्दिरमा सेवाको निम्ति प्रवेश गर्दा तिनीहरूको निम्ति तोकिएको क्रम यही थियो। लेवीहरूका बाँकी रहेका सन्तानहरूका निम्ति चाहिँ: अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट: येहेदियाह, रहब्याहको बारेमा, तिनका छोराहरूबाट: जेठा यिश्शिय्याह। यिसहारबाट: शलामोत; शलोमोतका छोराहरूबाट: यहत। हेब्रोनका छोराहरू: जेठो यरियाह, माहिलो अमर्याह, साहिँलो यहजीएल र कान्छो यकमाम। उज्जीएलका छोरा: मीका; मीकाका छोराहरूबाट: शामीर। यिशियाहका छोराहरूबाट: जकरिया। मरारीका छोराहरू: महली र मूशी। यजियाहबाट: बनो; मरारीका छोराहरू, यजियाहबाट: बनो, शोहम, जक्‍कूर र इब्री। महलीबाट: एलाजार जसका छोरा थिएन। कीशबाट: कीशका छोरा यरहमेल। अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। तिनीहरूका दाजुभाइहरू र हारूनका सन्तानहरूले गरेझैँ तिनीहरूले दावीद राजाको उपस्थितिमा र सादोक, अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारहरूका अगुवाहरूको उपस्थितिमा चिट्ठा हाले। परिवारको सबैभन्दा जेठो दाजु होस् वा सबैभन्दा सानो भाइ होस्, उमेर र पदको ख्याल नराखी समान व्यवहार गरियो।