2 शमूएल. 23. दावीदका अन्तिम वचनहरू यिनै हुन्: “यिशैका छोरा दावीदका दिव्य वाणी, सर्वोच्‍चद्वारा उच्‍च पारिएका मानिसको वाणी, याकोबका परमेश्‍वरद्वारा अभिषेक गरिएका मानिस, इस्राएलका लोकप्रिय भजन-गायक: “याहवेहको आत्मा मद्वारा बोल्नुभयो; उहाँको वचन मेरो मुखमा थियो। इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो: जसले धार्मिकतामा मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्‍वरको श्रद्धामा मानिसहरूमाथि शासन गर्छ। त्यो व्यक्ति बिहानको सूर्योदयको बादलविनाको सुनौलो ज्योतिजस्तै हुन्छ, पानी परेपछिको उज्यालोजस्तै, जसले जमिनबाट घाँस उमार्छ। “यदि मेरो घरानाको परमेश्‍वरसँग सम्बन्ध ठिक नभएको भए निश्‍चय नै उहाँले मसँग हरेक कुरामा सुरक्षित र व्यवस्थित अनन्तको करार बाँध्नुहुनेथिएन; निश्‍चय नै उहाँले मेरो मुक्तिलाई फलवन्त बनाउनुहुनेथिएन, र मेरो हरेक इच्छा पूरा गर्नुहुनेथिएन। तर दुष्‍ट मानिसहरू सबै काँडाझैँ फालिनेछन्, जसलाई हातहरूले समात्न सकिँदैन। जसले काँडालाई छुन्छ, त्यसले फलामको औजार अथवा भालाको चुच्‍चोलाई प्रयोग गर्छ; काँडाहरू जहाँ थुपारिन्छ, त्यही ठाउँमा जलाइन्छ।” दावीदका वीर मानिसहरूका नाम यिनै हुन्: तहकमोनी योशब-बश्शेबेत, जो तीन जनामध्येका प्रमुख थिए। तिनले एकै पटकको लडाइँमा भालाले आक्रमण गरेर आठ सय जना मानिसहरूलाई मारेका थिए। दोस्रोचाहिँ अहोही दोदोका छोरा एलाजार थिए, जो तीन जना वीर योद्धाहरूमध्ये एक जना थिए, जो पास-दम्मीममा लडाइँको निम्ति भेला भएका पलिश्तीहरूलाई चुनौती दिँदा दावीदसँग थिए। तब इस्राएलका अरू सेनाहरू पछि हटेका थिए। तर एलाजार आफ्नै ठाउँमा खडा रहेर हात गलेर तरवारमै नटाँसिएसम्म तिनले पलिश्तीहरूसँग युद्ध गरिरहे। त्यस दिन याहवेहले ठूलो विजय दिनुभयो। तर बाँकी सेनाहरूचाहिँ मरेकाहरूलाई लुट्नको लागि मात्र एलाजारकहाँ फर्केर आए। त्यसपछि तेस्रो वीर मानिस हरारी आगीका छोरा शम्मा थिए। जब पलिश्तीहरू दाल खेतमा भेला भए, तब इस्राएली सेनाहरू पलिश्तीहरूबाट भागे। तर शम्माचाहिँ त्यस खेतको बीचमा खडा भए। तिनले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले त्यस दिन ठूलो विजय दिनुभयो। कटनीको समयमा तीस जना मुख्य वीरहरूमध्ये तीन जना अदुल्‍लामको गुफामा दावीदकहाँ आए। एक दल पलिश्तीहरूचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए। त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए। दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!” यसकारण ती तीन जना वीरहरू पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए। तिनले भने, “हे याहवेह, मबाट यस्तो काम नहोस्! के यो पानी आफ्ना जीवनलाई जोखिममा पार्ने मानिसहरूको रगत होइन र?” यसकारण दावीदले त्यो पानी पिएनन्। ती तीन वीर मानिसहरूका वीरताका कामहरू यस्ता थिए। सरूयाहका छोरा योआबको भाइ अबीशैचाहिँ तीन जनाका अगुवा थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए। के ती तीन जनाभन्दा तिनको बढी आदर भएको थिएन र? यद्यपि तिनी उनीहरूमध्ये एक थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए। कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे। तिनले एक जना डरलाग्दो ठूलो रूप भएको इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे। यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए। तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे। ती तीस जनामा यी व्यक्तिहरू थिए: योआबका भाइ असाहेल, बेथलेहेमबासी दोदोका छोरा एल्हानान, हरोदी शम्मा, हरोदी एलीका, पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर, हूशातीका सिब्बेकै, अहोहीका सल्मोन, नतोपाती महरै, नतोपातीबाट बानाहका छोरा हेलेद, बेन्यामीनको गेबाबाट रीबैका छोरा इत्तै, पिरातोनीका बनायाह, गाशका खोल्साबाट हिद्दै, अर्बातीका अबी-अल्बोन, बहूरीमी अज्मावेत, शाल्बोनी एल्याहबा, याशेनका छोराहरू, हरारीबाट शम्माका छोरा जोनाथन, हरारीबाट शरारका छोरा अहीआम, माकातीबाट आहसबैका छोरा एलीपेलेत, गीलोनीबाट अहीतोपेलका छोरा एलीआम, कर्मेलबाट हेस्रो, अर्बीबाट पारै, सोबाबाट नातानका छोरा यिगाल, हग्रीका छोरा, अम्मोनीका सेलेक, बेरोतीका नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए, यित्रीबाट ईरा, यित्रीबाट गारेब र हित्ती उरियाह।