प्रस्थान. 6. तब याहवेहले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई के गर्नेछु, सो तैँले देख्नेछस्: मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई जान दिनेछ; मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई आफ्नो देशबाट धपाइदिनेछ।” परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ। म अब्राहाम, इसहाक र याकोबकहाँ सर्वशक्तिमान् परमेश्‍वरको रूपमा देखा परेँ, तर याहवेह मेरो नामले त मैले आफैँलाई तिनीहरूसित परिचित गराइनँ। मैले तिनीहरू प्रवासी भई बसेको कनान देश तिनीहरूलाई दिनेछु भनी मेरो करार पनि तिनीहरूसित स्थापित गरेँ। यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु। “यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु। म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ; अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ” तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्। तब याहवेहले मोशालाई भन्‍नुभयो, “जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।” तर मोशाले याहवेहलाई भने, “यदि इस्राएलीहरूले नै मेरा कुरा सुन्दैनन् भने फारोले झन् मेरो कुरा कसरी सुन्लान्? किनकि म भकभकाउँदै बोल्छु।” फेरि याहवेह इस्राएलीहरू र इजिप्टका राजा फारोका विषयमा मोशा र हारूनसँग बोल्नुभयो; अनि उहाँले तिनीहरूलाई इस्राएलीहरूलाई इजिप्टबाट बाहिर लैजान आज्ञा दिनुभयो। तिनीहरूका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनीहरू नै हुन्: इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक र पल्‍लू, हेस्रोन र कर्मी। शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र एउटी कनानी स्त्रीको छोरा, शाऊल। तिनीहरूका वंशावलीअनुसार लेवीका छोराहरूका नाम यिनै हुन्: गेर्शोन, कहात र मरारी। वंशअनुसार गेर्शोनका छोराहरू यिनै हुन्: लिब्नी र शिमी। कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। (कोहात 133 वर्षसम्म बाँचे।) मरारीका छोराहरू: महली र मूशी। अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; जसले तिनको निम्ति हारून र मोशालाई जन्माइन्। यिसहारका छोराहरू: कोरह, नेपेग र जिक्री। उज्जीएलका छोराहरू: मिशाएल, एलसाफान र सिथ्री। हारूनले अम्मीनादाबकी छोरी र नहशोनकी बहिनी एलिशेबालाई विवाह गरे; अनि तिनले उनको निम्ति नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्। कोरहका छोराहरू: अस्सीर, एल्काना र अबिआसाप। हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एक जनालाई विवाह गरे; र तिनले उनको लागि पीनहासलाई जन्माइन्। यी तिनै हारून र मोशा थिए, जसलाई याहवेहले भन्‍नुभयो, “इस्राएलीहरूलाई इजिप्टबाट दल-दल बनाएर बाहिर ल्याउनू।” इजिप्टका राजा फारोसित इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउने विषयमा कुरा गर्नेहरू यी दुई मोशा र हारून नै थिए। जब याहवेहले इजिप्टमा मोशासित बोल्नुभयो, अनि उहाँले मोशालाई भन्‍नुभयो, “म नै याहवेह हुँ। मैले तँलाई जे-जे कुरा भन्दछु, ती सबै इजिप्टका राजा फारोलाई भन।” तर मोशाले याहवेहलाई भने, “म बोल्नमा ढिलो छु; फारोले मेरा कुरा किन सुन्थे होला र?”