यर्मिया. 16. परमप्रभुको यो सन्देश मकहाँ आयो: “यर्मिया, यहाँ तिमीले विवाह गर्न हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।” परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो, “ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।” यसर्थ परमप्रभु भन्नुहुन्छ, “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतकको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशीर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ। “यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्। शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्। “यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ। सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’ “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’ तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे। तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ। यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’ “मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदैछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो। मानिसहरूले शपथ ग्रहण गर्नेछन्, “परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।” मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु। परमप्रभु भन्नुहुन्छ, “म धेरै जालहारीहरूलाई पठाउँनेछु। तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्। तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउन सक्तैनन्। म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुन क्षतिपूर्ण गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।” हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन। के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ? अहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।” परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्। तिनीहरूलाई अघिबाटै म मेरो शक्ति र बल विषयमा बताउनेछु। तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”