प्रस्थान. 25. परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर। ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा, निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला। रातो रंगले रंगाएको भेडाको छाला अनि नरम चर्म, बबुलको काठ। बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला। अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।” परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु। त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ। “बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ। यो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ। सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ। बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ। सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक। ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ। “मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख। त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ। “अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ। एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्। करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ। “म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ। जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु। “दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ। टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर। तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ। त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख। टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर। डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर। शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ। टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी संधै त्यहाँ मेरोअघि हुनु पर्छ। “त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड। “त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा। प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ। सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ। सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ। कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ। तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्। चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ। एक तोडा शुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ। चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।